एसईई नतिजा र शैक्षिक सुधार
गेहनाथ गौतम
काेभिड–१९ को प्रत्यक्ष असर, विद्वत्वर्गको एकोहोरो पेलान, राजनीतिकर्मीको लोकप्रियता कमाउने स्वार्थसँगै विद्यालय शिक्षा कक्षा १२ सम्म विस्तार गरिएको पृष्ठभूमिमा सरकारबाट उदार नीति अपनाई गत शैक्षिक सत्रमा एसईई परीक्षा कक्षा १० को पूर्वनिर्धारित विधिमा परिवर्तन गरियो । राष्ट्रियस्तरबाट व्यवस्थापन हुने परीक्षा पद्धतिलाई हठात् त्यागेर विद्यालयबाट आन्तरिक मूल्याङ्कन गरी दिइएको अङ्कमात्र सङ्लकन गरेर प्रकाशन गरिएको नतिजाबारे भने मिश्रित प्रतिक्रिया आएको छ ।
वास्तवमा परीक्षा केन्द्रसम्म पुगिसकेका परीक्षार्थीहरू घर फर्किएर परीक्षा नै दिनु नपर्नेगरी नतिजा प्रकाशन हुने अवस्थाप्रति सन्तुष्ट थिएनन् । सिकाइमा रमाउने र क्षमता प्रदर्शन गर्न चाहने जोकोहीलाई यो विषय प्रिय थिएन । सिर्जना, मौलिकता र प्रतिस्पर्धामा विश्वास गर्ने कसैका लागि पनि यस्तो परिवेश खुसीको विषय हुन सक्दैन । बालबालिकामा नीति परिवर्तन तथा विद्वान् र तर्कशास्त्रीका विविध तर्कसम्म पुग्ने क्षमता नहुनु अझ स्वाभाविक हो । प्रचलित परीक्षा पद्धतिमै प्रश्न उठाउने ठाउँहरू रहन सक्लान् तर पनि चल्दै आएको विधिमा एक्कासि परिवर्तन सहज लाग्दैन । सरकारले कक्षा १० को अन्तिम परीक्षा प्रदेश तहबाट गर्ने नीति लिएको सन्दर्भमा अहिले भएको अभ्यास ठिकै दिशामा भएको बुझ्नुपर्छ । तर, एक्कासि त्रैमासिक, अर्धवार्षिक र वार्षिक परीक्षाको व्यवस्थित अभिलेखन गर्नुपर्ने पूर्वजानकारी वा तयारीविना नै गरिएको अङ्क वितरण आन्तरिक मूल्याङ्कनका नामबाट भए पनि वस्तुगत नहुन सक्ने सम्भावना स्वाभाविकै हो ।
विद्यार्थीलाई आन्तरिक मूल्याङ्कनका आधारमा प्रमाणपत्र उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णयका आधारमा राष्ट्रिय परीक्षा बोर्डबाट एसईई परीक्षाका परीक्षार्थीले अध्ययन गरेको विद्यालयका प्रधानाध्यापकको अध्यक्षतामा कक्षा १० का कक्षा शिक्षक र नियुक्तिका आधारमा ज्येष्ठ शिक्षक सदस्य रहनेगरी तीन सदस्यीय मूल्याङ्कन समिति बनाउने गरी कार्यविधि लागू भयो । यसअनुसार सम्बन्धित विद्यालयबाट जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ हुँदै बोर्डमा पठाइएको अङ्कका आधारमा अक्षराङ्कन पद्धतिबाट नतिजा प्रकाशन गरियो । यसमा गणितबाहेक अन्य विषयमा २५ पूर्णाङ्कको प्रयोगात्मक परीक्षाको अङ्क मूल्याङ्कन गरी र ७५ पूर्णाङ्कको सैद्धान्तिक गरी यी दुई अङ्कलाई छुट्टाछुट्टै पठाइएको थियो । साथै प्राविधिक तथा व्यावसायिक धारका विषयमा भने प्रयोगात्मक ६० पूर्णाङ्कको र सैद्धान्तिकमा ४० पूर्णाङ्कको अङ्क पठाइएको थियो ।
अक्षराङ्कन पद्धति कार्यान्वयनमा ल्याइएपछि आठवटै विषयमा ‘ए प्लस ग्रेड’ हासिल गरेमा जीपीए ४ ल्याउने अवस्था बन्छ । यो आफैँमा सतप्रतिशत अङ्क प्राप्त गरेको भने होइन । साथै, विषयगत ग्रेडमा आधारित वर्तमान प्रमाणपत्रमा विद्यार्थीलाई समग्रमा गे्रड होइन, जीपीएमात्र प्रदान गरिन्छ भन्ने हेक्का राख्न आवश्यक छ । यसरी जीपीए प्रदान गर्दा विगत वर्षहरूमा ४ जीपीए प्राप्त गर्ने परीक्षार्थी थोरै थिए । जस्तो कि ०७२ मा दुईजना, ०७३ मा चारजना, ०७४ मा ७४ जना र ०७५ मा १०६ जना रहेका थिए । यो सङ्ख्या ०७६ मा ह्वात्तै बढेर नौ हजार ३१९ जना भएको राष्ट्रिय पत्रिका र सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । यदि यो नतिजा नै सत्य हो भने अरू जीपीए ल्याउने सङ्ख्या पनि पक्कै बढी भएको अनुमान गर्न सकिन्छ ।
यस आधारमा या त विगतको परीक्षा पद्धतिमा कमजोरी थियो, बल्ल सही नतिजा आएको छ वा शैक्षिक सत्र २०७६ मा विद्यालय शिक्षामा निकै राम्रो सुधार भएको छ वा आन्तरिक मूल्याङ्कन गर्न शिक्षक समुदाय सक्षम हुनाले विद्यार्थीले बल्ल न्याय पाएका छन् वा आन्तरिक मूल्याङ्कन गर्ने यो पद्धति वस्तुगत हुन सकेन, यसलाई नै कायम राखेमा शैक्षिक गुणस्तरमा नकारात्मक असर पर्छ वा यस्तै अन्य निष्कर्ष निकाल्नुपर्ने हुन्छ । अब अहिले लिखित परीक्षा पद्धतिले मात्र सही मूल्याङ्कन गर्न नसक्ने, हाम्रो परीक्षा प्रणाली ठीक छैन जस्ता कोणबाट बहस हुने गरेको पनि देखिन्छ । तर, विगतदेखि नै धेरै विषयमा २५ प्रतिशत प्रयोगात्मक परीक्षा हुने गरेको तर अङ्कनमा भने वस्तुनिष्ठता हुने नगरेको गुनासो रहने गरेकै थियो ।
यस वर्षको एसईई कक्षा १० को नतिजाले केही फाइदा भएका छन् । जस्तै, परीक्षाबारेको अन्योल हट्यो, विद्यार्थीले प्रमाणपत्र पाए, अर्को तहको शिक्षाका लागि विद्यार्थीलाई ढोका खुल्यो, सरकारलाई निकास दिएको जस प्राप्त भयो, शिक्षकलाई थप जिम्मेवारीको अभ्यास गर्ने अवसर बढ्यो, कक्षा १० मा हुने राष्ट्रिय परीक्षाको परम्परागत झन्झट हट्ने अवस्था बढ्यो । यस्तै यो नतिजा प्रकाशनबाट पूर्वनिर्धारित विधि छाडेर परीक्षाविना नै प्रमाणपत्र दिनुप¥यो, विद्यार्थीले क्षमता प्रदर्शन गर्न पाएनन्, मूल्याङ्कन वस्तुनिष्ठ र निष्पक्ष भयो भनेर ढुक्क हुन सकिएको छैन । नतिजाको वस्तुनिष्ठताबारे उठेका प्रश्नको उत्तर खोज्न भने विगत वर्षहरूसहित आगामी वर्षहरूमा यी विद्यालयको नतिजाको प्रवृत्ति र अहिले उच्च जीपीए प्राप्त गरेका परीक्षार्थीले आगामी दिनमा हासिल गर्ने कम्तीमा सिकाइ उपलब्धिको दर हेर्न आवश्यक छ ।
यस वर्षको एसईई नतिजापछि मौका पाएका बखत आफ्ना विद्यार्थीलाई अधिक अङ्क किन नदिने भन्ने सोचेर बढी अङ्क पठाउने विद्यालय र विद्यार्थीले भन्दा विधिसम्मत र वस्तुनिष्ठ अङ्क पठाउने विद्यालय र त्यस्तो विद्यालयका विद्यार्थी मर्कामा परेको पनि टिप्पणी हुन थालेको छ । यो निकै विचारणीय विषय हो । यदि यसरी अस्वाभाविक अङ्क प्रदान गरिएको छ भने एकातिर विद्यार्थीलाई र विद्यालयलाई आगामी दिनमा आफ्नो प्रमाणित स्तर कायम राखेर अघि बढ््न कठिन हुन सक्छ भने शिक्षकलाई आगामी दिनमा वस्तुगत मूल्याङ्कन पद्धति कायम गर्न÷गराउन अझ कठिन हुन सक्छ । तसर्थ, काम गरेर सिक्ने पद्धति अपनाउँदै आगामी दिनमा शिक्षक, विद्यार्थी र अभिभावकलाई समेत स्वमूल्याङ्कन गर्न प्रोत्साहित गर्न र गराउन आवश्यक छ । अर्थात् विद्यालयजस्ता समुदाय तहका सामुदायिक संस्थाले वस्तुगत मूल्याङ्कन गर्ने, दुरुत्साहन नगर्ने र भएको अवस्थालाई सहज रूपमा चित्त बुझाउँदै प्रगति उन्मुख हुने प्रवृत्ति विकास गर्न आवश्यक छ । यो विषय एसईई कक्षा १० परीक्षा आवश्यक वा अनावश्यक, अनि हुने, नहुने वा कसले र कसरी सञ्चालन गर्ने भन्ने मुद्दाभन्दा वृहत् संस्थागत तथा प्रवृत्तिगत सुधारको विषय रहेको देखिन्छ ।
उल्लिखित सन्दर्भमा शिक्षाका नीति निर्माता, शिक्षक, शिक्षाविद्, राजनीतिज्ञ वा सरोकारवाला सबैले केही विषयमा थप मन्थन गर्न आवश्यक देखिएको छ । विगतदेखि प्रचलनमा रहेको परीक्षा प्रणालीमा सामयिक सुधार गर्ने, विद्यार्थीको सिकाइप्रति शिक्षकको जवाफदेहिताको नयाँ परिभाषा स्थापित गर्ने, आगामी दिनमा विद्यालयको नतिजाको सन्तुलित अनुपात कायम राख्ने विषय महŒवपूर्ण छन् । परीक्षार्थीले आफ्नो प्रमाणपत्रको साख जोगाउँदै शैक्षिक प्रगति गर्ने, विद्यार्थीमा अध्ययन वा मिहिनेत कम गरे पनि राम्रो अङ्क आउने रहेछ भन्ने गलत मनोविज्ञान हटाउने, विद्यालय शिक्षाको प्रतिफल दरबारे नकारात्मक टिप्पणी नहुने अवस्था सिर्जना गर्नुपर्नेछ । विद्यार्थीको सिकाइ र सिकाइको प्रमाणीकरण गर्ने दायित्वप्रति शिक्षक नै जिम्मेवार बन्ने, आ–आफ्नो जिम्मेवारीको मर्यादा कायम राख्र्ने र सङ्घीय संरचनाअनुसार निर्दिष्ट तहगत अधिकारको कार्यान्वयन गर्दै संस्थागत क्षमता विकास गर्नेजस्ता विषय महŒवपूर्ण रहेका देखिन्छन् ।
(लेखक शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीका निर्देशक हुनुहुन्छ ।)
No comments:
Post a Comment